२८ वर्षका करोडपति उद्यमी

नेपालमा रोजगरीको सम्भवना छैन भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बर्सेनि लाखौँको संख्यामा नेपाली युवायुवतीहरू विदेसिन्छन् । पसिनामा पैसा साट्ने कतिपय युवा नेपाल फर्किंदा काठको बाकसमा फर्किन्छन् ।

युवा उमेर, जोश, जाँगर र ऊर्जा सबै विदेशी भूमिमा पैसासँग साट्छन् । युवा उमेरमा अलिकति कमाएर बुढ्यौली जिन्दगी आरामले बिताउने सोच राख्ने युवाहरूको दुःख विदेशमा कम छैन ।

तर, केही यस्ता युवाहरू छन्, जो नेपालमै केही गर्न सकिन्छ भनेर उद्यममा लागेका छन् । नेपालमा केही गर्न सकिँदैन भन्नेहरूका लागि प्रेरणाका स्रोत पनि बनेका छन् यी युवा । नेपाली माटोमै पसिना बगाएर नेपालमा सम्भावना छ भन्ने उदाहरण प्रस्तुत गर्ने एक पात्र हुन्, युवा उद्यमी अमृत भुसाल ।

बुबा बालकृष्ण भुसाल र आमा शान्ता भुसालको कोखबाट २०४८ सालमा जन्मिएका अमृत भुसाल पछिल्लो २ वर्षयता बुटवल क्षेत्रमा युवा उद्यमीका रूपमा परिचित छन् ।

२ वर्षकै अवधिमा आफ्नो उद्यमलाई पूर्वदेखि पश्चिमका बजारसम्म विस्तार गर्न सफल भएका छन् उनी । म्यानेजमेन्टका विद्यार्थीसमेत रहेका अमृतले इन्जिनियर बन्ने सपना देखेका थिए । तर, बुबा बालकृष्ण भुसाल उद्योग व्यवसायका क्षेत्रमा रहेकाले उनले पनि व्यापार रोजे । ‘इन्जिनियर बन्ने सोच थियो, पछि बुबाको व्यापार व्यवसायलाई साथ दिनुपर्छ भनेर म्यानेजमेन्ट रोजेँ’, अमृत भन्छन् ।

बुबाआमाको व्यापार व्यवसायमा भएको लगावका कारण अमृत सानैदेखि व्यापार व्यवसायप्रति आर्कषित थिए । तिलोत्तमाको प्यारामाउण्ट माध्यमिक विद्यालयबाट एसएलसी उत्तीर्ण गरेपछि अमृत अध्ययनका लागि काठमाडौं पुगे । अध्ययनकै क्रममा अमृतले व्यावसायिक वातावरण, सम्भावना र अवसरहरूका बारेमा बुझ्दै गए । काठमाडौंमा हुने औद्योगिक प्रदर्शनी, गोष्ठी र सेमिनारमा सहभागी हुन थाले । यसले उनमा थप उद्यमी बन्ने सोच पलायो । प्रेरणा मिल्यो ।

प्लस टुमा विज्ञान विषय लिएर अध्ययन गरेका अमृतले व्यापार व्यवसायमा लगाव बढ्दै गएपछि स्नातकमा म्यानेजमेन्ट पढ्न थाले । त्यसपछि काठमाडौंबाट अमृत बुटवल फर्किए ।

‘उद्योग त खोल्ने तर के खोल्ने ? के बजार सहज होला ?’ मनमा अनेकन तर्कना खेले । त्यसपछि अमृत नेपालमा तारहरूको मार्केट उत्कृष्ट छ भन्ने बजार विश्लेषणपछि वायर इन्डष्ट्री खोल्ने निर्णयमा पुगे ।

रूपन्देहीको ओमसतियामा पटवा केबलको नाममा २०६२ सालमा स्थापना भएको उद्योग बन्द भएको थाहा पाएपछि अमृतले उक्त उद्योगलाई किनेर उद्योग सञ्चालन गर्ने योजना बनाए । बन्द भएको उद्योग माथि उठाउन सकिएला, नसकिएला, मनमा अनेकन तर्क आए पनि अमृतले अठोट लिए । त्यसपछि बन्द भएको उद्योग अमृतले २०७४ सालमा आफ्नो स्वामित्वमा लिए । त्यसपछि सुरु भयो- भुसाल केबल एण्ड वायर इण्डष्ट्रिज प्रा.लि. ।

तेज स्मरण शक्ति र बजारको सहज विश्लेषण गर्न ल्याकत राख्ने अमृतले बजारको विश्लेषण गरी उद्योगलाई सञ्चालन गर्न थाले । बुबाले सञ्चालन गरेको ट्याक्टर व्यवसायमा सहयोग गर्दाको अनुभव पनि आफ्नो व्यवसायमा प्रयोग गरे ।

२८ वर्षीय युवा उद्यमी भुसालले अत्यन्त आक्रमक बजार योजनाका साथ दोस्रो पटक उद्योग सञ्चालनमा ल्याएपछि रूपन्देहीमा छोटो समयमै स्थापित उद्योगीका रूपमा आफूलाई उभ्याइसकेका छन् । बिजुलीको जडानमा प्रयोग हुने टु फेज, थ्री फेज तारहरू, हाइड्रो पावर, टेलिकम तथा औद्योगिक प्रयोजनका लागि प्रयोग हुने सबैका प्रकारका तारहरूसँगै बोर्ड, पाइप तथा लिस्टीहरू उनको उद्योगमा उत्पादन हुँदै आएका छन् ।

‘बजारको माग र समयानुकूल हाम्रा उत्पादनहरू परिर्वतन हुँदै आएका छन् । परिर्वतन भइरहेको बजार र राष्ट्रिय गुणस्तरअनुसार विभिन्न वायरहरू हामीले उत्पादन गरिरहेका छौँ’, उनले भने । उद्योगमा योग्य इन्जिनियरहरू, उत्कृष्ट ल्याब र मेसिनरीको प्रयोगले उद्योगको उत्पादन क्षमता दिनानुदिन विस्तार हुँदै गएको अमृत बताउँछन् । १२ करोड रुपैयाँको लगानीमा स्थापित उक्त उद्योगमा प्रत्यक्ष रूपमा १ सय ७५ जनाले रोजगारी पाएका छन् । त्यसबाहेक एक हजार भन्दा बढी विद्युतसम्बन्धी काम गर्ने व्यक्तिहरूले अप्रत्यक्ष रूपमा रोजगारी पाइरहेका छन् ।अमृतको उद्योगमाकामगर्ने मध्ये अधिकांशयुवा पुस्ता छन् ।

१ सय ७५ जनामध्ये १ सय २० जनाभन्दा बढी २८ देखि ३० वर्षका युवाहरू रहेको अमृत बताउँछन् । ‘मैले युवामा सम्भावना देखेको छु । त्यसैले युवाहरूको टिमले नै मेरो उद्योगमा काम गरिरहेका छन्’, अमृत भन्छन्, ‘म्यानेजमेन्टको २० जनाको टिममा पनि हामी १८ जना युवा नै छौँ ।’ उद्योगमा काम गर्ने सबै भैरहवा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, पश्चिम नवलपरासीका हुन् । हाल उद्योगमा लगानी ४० करोड रुपौयाँ पुगिसकेको छ ।

‘केही गर्ने हिम्मत, आँट र विश्वास भएमा नेपालमा जे पनि गर्न सकिन्छ’, अमृत भन्छन्, ‘नयाँ योजना ल्याएमा लगानी गर्न बैंकहरू तयार हुन्छन् । पुँजी नहुँदा उद्योग व्यवसाय गर्न सकिएन भन्नेचाहिँ हुँदैन ।’ नेपालमा वायरको बजार उत्कृष्ट हुँदाहुँदै पनि छिमेकी मुलुक भारत र तेस्रो मुलकबाट वायर आयात हुने गर्छ । नेपाली उद्योगले जम्मा ४० प्रतिशत मात्र बजार ओगटेका छन् । ६० प्रतिशत बजार अन्य देशबाट आयात हुने वायरले ओगटेको छ ।

नेपालमा आवश्यकताअनुसार वायर पूर्ति गर्न सकिने भएपछि सहज रूपमा आउने वायरले नेपालका उद्योगहरूले बजार विस्तार गर्न अप्ठ्यारो भएको अमृत बताउँछन् । भन्सारमा कडाइ गर्दै वायरको आयात रोक्ने हो भने वायरमा नेपाल आत्मनिर्भर बन्न सक्ने उनको भनाइ छ । उनका अनुसार उद्योगका लागि आवश्यक कच्चा पदार्थ अझै पनि विदेशबाट ल्याउनुपर्ने बाध्यता छ । उद्योगमा आवश्यक पर्ने कपर (तामा), आल्मुनियम, मास्टर ब्याच आदिमध्ये ९० प्रतिशत दुबई, भारत, सिंगापुर, मलेसियालगायतका मुलुकहरूबाट आयात गराउँदै आएको र १० प्रतिशत मात्र नेपालको प्रयोग हुने गरेको उनको भनाइ छ ।

हाल उद्योग १ साउनदेखि २४ घण्टा नै सञ्चालनमा रहेको छ । लकडाउनका कारण उद्योग माथि उठ्न नसक्ने हो कि भनेर चिन्ता भएकामा १ साउनपछि भने व्यवसायमा केही आशाका किरण पलाएका बताउँछन् अमृत । लकडाउनको अवधिमा १२ घण्टा मात्र उद्योग सञ्चालन भएकामा अहिले २ सिफ्ट उद्योग सञ्चालन भइरहेको छ । स्थापनाको २ वर्षमा अमृतले आफ्नो उद्योगबाट उत्पादित सामग्री पूर्वदेखि पश्चिमको बजारसम्म पठाउन सकेका छन् । अमृतको मिहिनेत र उद्योग सञ्चालनको योजनाबाट प्रभावित भएर गत वर्ष रूपन्देही उद्योग संघले उनलाई उत्कृष्ट युवा उद्यमीको रूपमा सम्मानित तथा पुरस्कृत गरेको थियो ।

३ अर्बको ५ तारे होटल सञ्चालन गर्दै

अमृतका बुबा बालकृष्ण भुसाल पनि व्यापार व्यवसायमा जमेका व्यक्ति हुन् । उनैको सहयोगमा अमृतको टिमले भैरहवामा ३ सय करोड रुपैयाँको ५ तारे होटल सञ्चालन गर्न थालेका छन् । बेलहियामा ४ विगाह क्षेत्रफलमा निर्माणाधीन उक्त होटल २०७८ को दशैँभित्र सञ्चालन गर्ने गरी काम भइरहेको अमृतले बताए । ‘अब उद्योगसँगै हस्पिटालिटीको कन्सेप्टले यो होटल सञ्चालन गर्ने योजना बनाएका हौँ । बुबाले पनि यसमा साथ दिनुभएको छ’, अमृतले भने ।

भुसालको युवालाई सुझाव

युवा उद्यामी अमृत भुसाल नयाँ व्यवसाय गर्न चाहनेहरूका लागि कोर टिम, आत्मविश्वास, हिम्मत हुन जरुरी रहेको बताउँछन् । त्यसबाहेक बजारको अवस्था हेरीकन वस्तुको उत्पादन गर्नुपर्ने सुझाव छ । ‘चाहे त्यो उद्योग वा व्यापार किन नहोस्, बजार बुझ्नुपर्‍यो । त्यसपछि मात्र व्यवसायमा हात हालेपछि सफल भइन्छ’, अमृत भन्छन् । पाका पुस्तामा अहिलेका युवाहरूको जस्तो क्षमता नहुने भएकाले दक्ष युवाहरूको टिम बनाएर काम गरेमा सफलता मिल्ने उनको भनाइ छ । ‘कहिलेकाहीँ सबै मिल्दामिल्दै पनि हामीले सामान्य कुरामा चासो दिँदैनौँ । कर्मचारीमा विभेद, कर्मचारी नै खुसी भएन भने उद्योग माथि उठ्न सक्दैन’, अमृत भन्छन्, ‘कर्मचारीको भनाइ सुन्दै चालकदेखि हाकिमसम्मका सबैलाई एउटै व्यहार र विभेद नगरेमा पनि व्यवसाय माथि उठ्न सक्छ ।’

अमृतको गुनासो

कामको दौरानमा सबैभन्दा बढी अप्ठ्यारो भोगेको भनेको उनले सरकारी अड्डामा हो । सरकारको नीति र प्रक्रियाले उद्यम गर्न अप्ठ्यारो भएको उनी बताउँछन् । त्यसबाहेक सरकारले ठोस निर्णय गर्नुपर्ने सुझाव अमृतको छ । ‘हामी आत्मनिर्भर हुँदाहुँदै पनि सरकारले विदेशबाट सामान आयात गर्छ । यसले नेपालका उद्योगहरू धरासयी बन्दै गएका छन्’, उनले भने, ‘नेपालमा आत्मनिर्भर भएका वस्तु उत्पादन गर्ने उद्योगलाई प्रोत्साहन गर्दै त्यस्ता प्रोडक्ट नेपालमा आयात गर्न सरकारले प्रतिबन्ध लगाउनुपर्छ ।’ नेपालमा रोजगारीको अवसर छैन भन्नेहरू धेरै भए पनि दक्ष कामदारको अभाव उनले व्यहोरे । त्यसैले कामदारलाई दक्ष बनाउन र रोजगारदाताहरू जोड्न पुलको काम सरकारले गर्नुपर्ने उनी बताउँछन् ।

प्रकाशित मिति: December 31, 2020