भैरहवाको भुसाल ग्रुपले १ अर्ब २ करोडमा किन्यो विशाल सिमेन्ट

काठमाडौं । भैरहवाको व्यापारिक घराना भुसाल ग्रुपले भैरहवामा नै कारखाना रहेको विशाल सिमेन्ट खरिद गरेको छ । ग्रुपले १ अर्ब २ करोड रुपैयाँमा सिमेन्ट उद्योग र उद्योगको नाममा रहेको भौतिक सम्पत्ति खरिद गरेको हो ।

श्यामलाल बैद्य, अमित श्रेष्ठ, लवप्रसाद मल्ली सहित ९ जनाको लगानी रहेको विशाल सिमेन्टलाई भुसाल ग्रुपका बालकृष्ण भुसालले लिएका हुन् । ग्रुपका अध्यक्ष बालकृष्ण भुसालले विशाल सिमेन्ट खरिदको प्रक्रिया अन्तिम चरणमा रहेको बताए । एक जना सञ्चालक नेपालबाहिर रहेका कारण सबै सेयर स्वामित्व हस्तान्तरण भैनसकेको उनले जानकारी दिए । खरिदबिक्रीको काम ९४ प्रतिशत सकिएको छ, बाँकी काम ५ दिन भित्रमा सकिने उनले जानकारी दिए ।

१० वर्षअघि स्थापना भएको विशाल सिमेन्टले त्यसको २ वर्षपछि सिमेन्ट उत्पादन सुरु गरेको थियो । उद्योगको दैनिक ८०० टन उत्पादन क्षमता छ । उद्योगले विशाल शक्ति पीपीसी, विशाल ओपीसी, रत्न सिमेन्ट पीपीसी, अशोका पीपीसी सिमेन्ट उत्पादन गर्दै आइरहेको छ ।

भुसाल ग्रुपले विशाल सिमेन्ट खरिद गरिसकेपछि दैनिक उत्पादन क्षमता र लगानी बढाउने जनाएको छ । सिमेन्ट उत्पादनका लागि पछिल्लो प्रविधिका मेसिन ल्याउने र अत्याधुनिक प्रविधिबाट सिमेन्ट उत्पादन गर्ने ग्रुपले जनाएको छ । विशाल सिमेन्टको खानी सुर्खेतमा रहेको छ । उद्योगले २८ वर्षका लागि खानी लिजमा लिएको हो ।

प्रकाशित मिति: December 31, 2020